मेरो सध्ये खुट्टो बेसरम खुँडो भयो,बलियो हड्डी मजाले टुक्रिँदै फुट्यो। दुई खुट्टाले टेक्ने सग्लो मान्छेको अब सहारा बैशाखी बन्ने पक्का भयो। बुढेसकालको सहारा हजुरबाको मेलको लौरो संझिएँ,पितलको काँजो हालेको लौरो टेक्दै हजुरबा घर खेत गर्नुहुन्थ्यो। कति बलिया थिए हजुरबाका पाइला,कति खडिखम्बा थिए त्यो लौरीका डोबहरु.. के यो बैशाखीमा म पहिले जस्तै गरी हिँड्न सकुँला? के यसले मलाई सग्ला खुट्टाकै जस्तो आड देला? मेरो मनमा कताकता बादलका टुक्राहरु आए, आकाश रोएझैँ मेरो मन पनि रोयो,रोए आँखाहरु,केहि ढिक्का आँसुहरु खस्दै मेरो कानको प्वालसम्म पुगे। मैले हातले पन्छाएझैँ कानका आँसुहरु पुछेँ।
बगिरहून्,आज मैले आँसुहरु रोकिन,मैले रोकेर पनि त रोकिन्नन्। चाहँदैमा हुने भए सधैँ दिन भैरहन्थ्यो,अँध्यारो रात किन पो आउँथ्यो र? हरेक मान्छेले खुसि र आनन्द मात्रै रोज्थे। पीडाबाट गुज्रन कसलाई पो रहर हुन्छ? सबै बाँचिरहन खोज्थे,को पो मर्न चाहन्थ्यो।
मैले फर्केर घर हेरेँ,
छानो उस्तै चुहिरहेछ,पानीका तप्काहरु बर्षेनी खस्छन् र धार बनाउँदै भित्ता रुझाउँछन्। चिसो भित्तोमा अढेस लगाएका केहि चिसा दाउरा निकाल्दै मेरी आमा आगो फू-फू गर्छिन्, तर चिसो चुल्होमा चिसा दाउरा बले पो ! ती झन् पुत्ताउँछन् र मडारिँदो धुवाँ निकाल्दै आमाको मन पेट पोलाउँछन्, सारीको सप्कोले आमा धमिलिएका आँखा मिच्छिन् र नाक बटार्छिन्।
माफ गर आमा। मैले तिम्रो सपना पूरा गर्न सकिन,तिम्रो मैलो सारी र च्यातिएको चोलो नि फेरिदिन सकिन। हावाले फर्फराएको छानोको कालो प्साष्टिक हेर्दै तिमीले एक मुठी रहर पाल्दिहौ, एकदिन मेरो छोरोले यो छानो पनि नयाँ बनाउँछ, यो घर नै नयाँ हुन्छ। यी काठपात यी झ्यालढोका यी भित्ताहरु सबैले नयाँ रुप लिन्छन्। तर,
कसरी भनुँ? आमा म अस्पतालमा छु। थाहा छैन तिम्रो छोरो पहिलेजस्तो हुन्छ हुन्न? पहिलेजस्तो हिँड्छ हिँड्दैन, तर आमा तिमी त आमा हौ नि है, म डुँडो नै भएपनि उत्ति मायाँ गर्छ्यौ, तिमी पबित्र छौ यसैले त तिम्रो मायाँमा खोट छैन।
ऐया! ठूलो गुजुल्टो भएकी नर्स आई। यो कति मीठो बोल्छे, कति मिलनसार छे।कसैले कसैलाई वास्ता नगर्ने परदेशमा यहि त मेरो सहारा बनेकी छ,ठीक समयमा आउँछे-ठीक समयमा जान्छे। कालो बुर्काभित्र सूर्यमुखीझैँ चम्किएको उसको अनुहार हेर्दै म पीडा कम भएको महसुस गर्छु,कैलेकाहिँ त खपिनसक्नु पीडा हुन्छ, बर्बराउँदै केहि संझन्छु,
घामले पोल्छ जूनले पोल्छ पोल्छन् यहाँ सबै कुरा
ढुङ्गो बोल्छ माटो बोल्छ बोल्छन् यहाँ सबै कुरा
दुख्यो? उसकै भाषामा उसले सोधि, सहज अनुभूति गर्नुस् न। सोच्नु कि मलाई पनि दुखिरहेछ। उसको यत्ति कुराले पनि मनमा कता कता शीतल महसुस गरायो। म हाँसे तर खुट्टोको घाउ टन्किँदै असर नशासम्म पुग्यो। दुखमा दिएका थोरै शब्द नि सहानुभूति बन्छन्,साहस बन्छन्-सान्त्वना बन्छन्।
उसले फेरि मेरो नितम्बनेर अँठ्याई, केहि मासुको भाग समाति र सुईको टुप्पो कोपी। काखीमा फाइल च्यापेर उभिएकी अर्की नर्सले औषधि भर्दै दिई,यो नर्सले कोपिएको सुईमा सिरिन्जको टुप्पो अड्काउँदै भित्र धकेली। दबाई सुईमार्फत मेरो शरीरभित्र पुग्यो,उता भित्र पुगेको दबाईलाई रगतले बहाबले शिर पाउ फैलायो,यता मेरो ज्यानभरी पसीना चिट्चिडाए। अरिंगालले टोक्दा नि यस्तो दुख्दैनथ्यो,के दुखेरै जिन्दगी बिताउनुपर्ने हो?
एउटी नर्स देख्दामा इन्डियाकि जस्ती लाग्छे,तर यसको ड्युटी म भएको वार्डमा पर्दै पर्दैन,घडीले फन्को मारेझैँ उ फन्का मार्दै आउँछे र फन्का मार्दै जान्छे। बोलुँबोलुँ लागेको उहिलै हो,न उसले बोलाउने समय आउँछ न म नै बोल्न सक्छु।
जहाँसुकै होस्,अस्पताल भनेको अस्पताल नै हो। सबै कुरा गन्हाउँछ।बिरामी,बिरामी कुरुवा,डाक्टर,नर्स,ओखति,बेड,शौचालय सबैमा नमीठो गन्ध छ। नचाहेरैै बस्नुपर्छ, जीवन मिल्ने ठाउँ भन्छन् भन्नेले त,तर खै यहाँको अस्तब्यस्त वाताबरणले मेरो सासै लैजालाझैँ हुन्छ। सबैका आफ्नै ब्यथा छन्,रोग र बिमार छन्,यसो हेर्दा तिनै दुखी मानिस देखेपछि चित्त बुझ्छ। दिनमा त सबै हुन्छन् रात पट्याटलाग्दो काट्नुपर्छ,अस्पतालमा कसैलाई बस्नै नपरोस्।
दुई बर्ष अघिको जिन्दगी संझिएँ,कति इज्जत र कति सम्मान थियो। स्कुलका कलिला केटाकेटी जो सुन्दर भबिष्यको सुनिश्चितताको लागि असल सपनाहरु बोकेर स्कुल आउँथे,तिनीहरुलाई देख्दा तिनीहरुसँग हुन पाउँदा ज्यानले थकान कहिल्यै महसुस गरेन,पीडाको आभाष कहिले पो भयो? कहिल्यै भएन। यता गयो सर आउ बस,उता गयो सर दुध खाएर जाउ। सर हिसाब सिकाईदिनुस् न। सर हजुरजस्तै कसरी बनिन्छ? घर छोडेर चितवन पढाउन पुगेपनि एक्लो हुन कसैले दिएनन्,सारा गाउँलेको मायाँले पाइला-पाइला पछ्याइरहन्थ्यो। जिम्मेबारी र कर्तब्य पनि अघिपछि थिए।
जिन्दगी नचिन्दा दुख पाइन्छ। मैले दुख पाएकै हो,कसैले नपाउने दुख। आखिर अरुको जीवनको असल बाटो देखाइदिएर मेरै बाटो कतिन्जेल अन्जान बनाइरहुँ? पढाएर मात्र पनि त गुजारा चल्दैन,सानै छँदा कखरा नचिन्दा सरले बेसरी भकुरेका थिए,100 पटक उठबस र कुखुरी बन्दै सारा कक्षा घुम्दा ज्यान थरथर काँपेको थियो,खुट्टा गलेका थिए भने लुगा पसीनाले भिजेका थिए। त्यो बेला मैले नि अठोट गरेको थिएँ,एकदिन म नि असल शिक्षक बन्छु। मात्र शिक्षक बन्दिन,असल भेडा गोठालो बन्छु, तितरबितर भएका भेडाहरुलाई एकत्रीत पार्छु,एउटै बगाल बनाउँछु। खै र, मैले शिक्षक बनेर सबै सपना पूरा गर्न सकिन। बालबालिकालाई हाम्रो इच्छानुसार हैन,उनिहरुकै चाहना मुताबिक छोडिदिनुपर्छ, केहि बिग्रन्न। जति तेजले घोडा दौडेपनि भीरबाट खस्दैन,बाघले जति भोकाए नि आफैलाई त खाँदैन के। छडीले हैन प्रेमले अनुशासन सिकाउनुपर्छ,बुझाउनुपर्छ। मैले त्यै त गरेको थिएँ। छुट्नेबेला सारा बिद्यार्थीका मलीन अनुहार याद आयो,खुब रोएका थिए मलाई गुमाउनुपर्दा। तर मैले टुङ्गोमा नपुर्याई बीचमै छोडिदिएँ।
स्कुल त छोडिस्,जागीर त गुमाइस्। अब बिदेश जाने कुरै नगर्, बाले भन्नुभो। बाका कुरा कसले सुनोस्,कुरो अरुको सुन्ने निर्णय आफूले लिने हो, म त बिदेश जान्छु जान्छु मैले अड्डी कसेँ। म यहाँ बसेर के गर्न सक्छु? जागीर खाएर दिन मात्र काट्नु जिन्दगी त हैन के।
जम्मै तेरा साथीहरु हाकीम भैसके,कति सुब्बा भए,कति खरीदार बने कतिले स्थायी जागीरमा नाम निकाले, तर तँ? बा रोकिनुभो।
तपाइँ पनि त उ बेलै 10 पास गरेको मान्छे हो, के काम भो र? औषधि पसल गरेर जम्मै उधारोमा दिने अनि..मैले मन मनले बोलेँ। बाबुआमालाई मुख लाग्नु या मुख फर्काउनु असल छोराको गुण हो जस्तो लागेन। 12 बर्ष हराएर आएका बासँग गोठ छुटेको गोरु पुन: गोठमै फर्केसरी हाम्रो भेट भएको थियो। एक्ली आमाका आसाहरु पलाएका थिए,भीरमा लहराएका लहराजस्तै। हामी दाजु बैनीमा नयाँ बहार छाएको थियो,बिहानीपख खुला आकाशमा शुक्र उदाएजस्तै। समाजको मुख बन्द भएको थियो,कुरा काट्नेले कुरा काट्न छाडेका थिए,12 बर्षमा खोलो फर्कन्छ भन्ने उखान सत्य साबीत भएको थियो।
म काठमाण्डौ गएँ,थाहै नदिई भिसा प्रोसेस गरेँ। रहरको अघि कसको के लाग्छ? सधैँभरी दुखी आमाको दुख हेरिरहन पनि त मन छैन, राम्रो खान राम्रै लाउन रहर कसलाई पो हुँदैन? एउटा नचुहिने छानो होस् त्यस्तै घर होस्, खान बस्न र लाउन केहि कमी र कष्ट नहोस्। यहि चाहना त हो,अरु केहि छैन मनमा। म यहिँ बस्दैमा देश बन्दैन,बरु बिदेशिएर केहि पैसा कमाउन सके घर त बन्ला, बा आमा त सुखी रहलान्। मेरो मनमा के के कुरा खेले। म सपनामै हराएँ,दिवास्वप्न..
महिनौको प्रतिक्षापछि भीसा आयो,म बन्धन फुत्केको चरोझैँ रमाएँ। मेरा काल्पनिक पखेटाहरु आकाश छुन पुगेका हुँदा हुन्,मेरो हावाको थैलोले रुख-रुखका हाँगा-हाँगा लहराएको हुँदो हो
अब त सुन्नुपर्दैन,मान्छे मारेका समाचार मान्छे मरेका समाचार। मार्छन्-मर्छन्, किन लड्छन्? म अन्जान छु,यसको जबाफ मसँग छैन तर एक कुरा थाहा छ,सबैले दीर्घायू जीवन जिउन चाहन्छन्,
चोकचोकमा बलात्कार हुन्छन्,सरकार केहि बोल्दैन। गुण्डागर्दी कसरी नहोस्,घरखेत बेचेर मैलेजस्तै पढेका हजारौँ युवाहरु बेरोजगार छन्। न संभावना कतै छन् न त अवसर नै, सबैभन्दा मुख्य आर्जेको सम्पति शैक्षिक प्रमाणपत्र नै काम नलाग्ने गरी थन्काउनुपर्छ र भाषिनुपर्छ बिदेश सीपबिहीन अवस्थामा। उताको खतरा कसले मोलिदिने?सुरक्षाको ग्यारेन्टी कसले लिने? यसरी बेरोजगार हुनैका लागि या पढेर बेरोजगार बन्नैकी लागि कतिन्जेल स्कुल कलेज धाइरहने? नदेखिने तर सबै रित्तिने गरी अन्त्य हुने ठाउँ हो जहाँ गरेको लगानी कहिल्यै फिर्ता हुँदैन। उफ्फ शिक्षा..
मैले कानमा तेल हालेझैँ अब केहि सुन्नुपर्दैन। बिदेश जाने पक्का त भैसक्यो,बिग्रेका र भत्केका सडक र लामो जाम छिचोल्दै म काठमाण्डौ पुगेँ। कसरी घरबाट बिदा भएँ त्यो म संझनै चाहन्न,बुढा बाआमासँगको बिछोड यति नमज्जाको भयो कि म यति दुखी त जिन्दगीमा कतै भएकै थिइन,यति साह्रो त कहिल्यै रोएकै थिइन।
म बिदेश आएँ। वास्तबिक जहाजले मलाई बादलका टुक्राभन्दा अझ माथिको आकाशमा उडायो। त्यति माथि म उड्दा मेरा सपनाहरु कति माथि पुगे होलान्।
लामा र चिल्ला सडक छन्,फराकिलो गरी निरन्तर गाडी गुडिरहेछन्। बाटोको छेउछाउ रंगीचंगी फूलहरु,वाह परदेश। म लाजाबाफ भएँ,यो जस्तै मेरो देश बने पो। हुन त मजस्ता सबै युवा यसरी बिदेशिन्छन् देश यत्राको बन्ने। बुढाखाडा बसेर देशको बिकास त हुँदैन के। के गर्नु? रोजीरोटीकै लागि त म बिदेशिएको हूँ,रहरहरु कुल्चेर सपनाको खेतिमा।
बिदेशिएको दिनदेखि आजसम्म चयनले सुतेको छैन,यो कुरा बालाई आमालाई कसरी सुनाउँ? एक मन त रहरले गएको होस् जे-सुकै मर् भन्लान्, तर त्यसो पनि नभन्लान्। आफ्नै बाआमा हुन् नि.. रोटी माग्ने सन्तानलाई ढुङ्गो त कसैले दिँदैनन्। आमाले सधैँ मेरो दीर्घायूको कामना गर्दै जल फेर्दिहुन्, बाले पसीना पुस्दै आराले काठ चिर्दा हुन्, फोन गरेर सन्चै छु भनूँ कि नभनूँ म दोधारमा परेँ। भनूँ, जीवित भगवानलाई कसरी ढाटूँ,नभनूँ यत्रो कुरा कसरी लुकाउँ?
मैले फोन गरेँ। आमा म अस्पतालमा छु,बालाई नि खबर भनिदिनु है।
महिनाको अन्तिम प्रहर हो, बिदेशिएको छोराले पैसा पठाईदिने आसाले सापट र उधारो चलाएका हुँदाहुन् कसरी तिर्लान्? मेरा आँखा फेरी रसाए..
माफ गर बा। ऐले नि पैसा पठाउन सकिन,कतिन्जेल बग्छन् तिम्रा पसीना? कतिन्जेल उठ्छन् हातमा ठेला? गोरुको काँधजस्तै भएहोलान् हत्केला पनि,म दु:खी छोरो हूँ बा। तिम्रो कर्तब्य अझै बुझ्न सकिन,
होसियार त भएकै हो,तर होसियारीले मात्र पनि नचल्दोरैछ। मैले डाक्टरलाई भनेँ। यति ठूलो शहरका यति अग्ला घर देख्ने मैले के बाटो देखिन होला? मलाई ज्यानको मायाँ नभएर हो र दुर्घटनामा परेको? मैले खुट्टो तन्काउन खोजेँ तर नर्सले आफ्ना कलिला हातले च्याप्प समाई।
उसका मनताता हात फुत्काएर मैले खुट्टो उचाल्नै सकिन,नतमस्तक सुतिरहेँ। डाक्टर सधैँझैँ आयो डिग्रीका लहरा कानमा कोच्यो र टुप्पो मेरो पेटमा सोझ्याउँदै खुर्र दगुरायो। नर्सतिर हेर्दै केहि बोल्यो र कागजमा नजानिँदो केहि लेख्दै नर्सलाई संकेत गर्यो। सायद भनेको हुँदो हो,बिरामीको अझ बढी ख्याल गर्नु।
लहरै बिरामीका वार्ड छन्,अनि छन् बिरामीका कुरुवा पनि।तर,मेरा कोहि छैनन् म एक्लै छु
मसँग मेरो मन छ,मुटु र मष्तिष्क छ।आफ्नै अर्धानो जिन्दगी छ,जसोतसो गुजारिरहेछु। घरमा हुँदो हुँ त,आमा हुन्थिन् बा हुन्थे,सबै हुन्थे। घर गोठ र आँगनमै तेर्सिएका सुन्तलाका रुखहरु पनि साथी भैदिन्थे,मैले एक्लो महसुस गर्नै पर्दैनथ्यो।
आमाले तातोपानी तताएर ल्याउँथिन् तर म खान मान्दैनथेँ,बाले हप्काएझैँ मायाँ गर्थे,मैले घुर्काएझैँ चुपचाप मायाँ लिन्थेँ,तर यहाँ त्यस्ता कोहि छैनन्। यो शहर बिरानो हो,यो ठाउँ नि मेरो हैन,म बस्ने मेरै बिल्डिङका मान्छेले नि मलाई चिन्दैनन्,न त मैले नै उनिहरुलाई चिन्छु।सबैले शहरलाई स्वार्थी भन्लान् तर म भन्दिन,
यो शहरमा स्वार्थ भरिएका तमाम मान्छे बस्छन्,यसैले शहरै स्वार्थी भयो,यी गल्ली यी बाटा सबै बिराना लागे। मेरो गाउँ भने त्यस्तो छैन,गाउँका प्रत्येक गोरेटो घोडेटोले मलाई चिन्छन्। गोठले गोठालाले फाँटले टारले पाखाले पहराले भीरले जंगलले गाईबस्तु सबैले चिन्छन् मलाई,मैले चिन्छु तिनीहरुलाई। टाढैबाट गन्ध थाहा पाएर गाई ड्वाँ कराउँछ,भैँसी किलो फालुलाझैँ मैतिर तानिन्छ, यहि त मायाँ हो। तर शहरमा तिनीहरुकै निर्मम हत्या हुन्छ,घाँस काटेर हाल्ने हातहरुले मासु र छाला लुस्छन्,हड्डी कोपार्छन्, कति नीर्दयी शहरका मान्छेहरु। मेरो मन उदास भयो,यति नीर्दयी हुन नि नपरोस्। म त तिनै डहर गल्ली र घस्यानमा बसेक हुँ,तिनीहरुकै छातिमा लड्दै म उठेको हूँ,पछारिँदै हिँड्न जानेको हूँ,के मैले त्यो साइनो त्यो नाता भुल्न सकूँला? अहँ सक्दिन।
गाउँमा सहयोग छ,सदाचार र एकता छ,परि आउँदा सबै एकजुट एकढिक्का हुन्छन्। अकालमा कोहि मर्नुपर्दैन,बोकेर अस्पताल पुर्याउने साधन नभए नि मान्छेको मन छ,कर्मठ हात पाखुरा छन्। संस्कार र सत्कार सिकाउने गाउँको गाउँले हूँ म। छिटोछिटो धड्केको छातिमा नर्सले डिजिटल यन्त्र राखी र फिर्र-फिर्र दोडेका अंकहरुमा नजर दौडाई।
तपाइँको त प्रेसर नि लो छ,धेरै चिन्ता गर्नुहुन्छ हो? सुकिलो सेतो कपडा लाएकी नर्स बोली।
छाति त छिट्छिटो दौड्याछ,मैले जिस्किएझैँ बोलेँ। एकधारको मुस्कानले उतिर नजर दौडाएँ,उसका चौडा छातिले मेरो मुटु झन् धड्काए,खिस्स उ जबाफी हाँसो हाँसी। सुन्तलीपत्रे उसका ओठहरुमा गुलाबका थुँगाहरु लहरै फक्रिए,मैले नि ओठ खुम्चाउँदै अर्को मुस्कान थपेँ,के उसले नि मेरो मुस्कानलाई सूर्यमुखी फूल सोचेकी होली??
मुस्कुराइरहनू!
हाँसेर ओठको मुस्कान कहिल्यै सकिन्न,रोए बरु आँसु रित्तिन्छन्-आँखा ओभाना हुन्छन्। पलभरको मुस्कान महसुस गरिरहन सक्नुपर्छ..
मैले रसाएका आँखाहरु मिचेँ,हाँस्दा नि आँसु खस्छन्,हर्षाश्रु होलान्,खसिरहून्।
भित्ताको घडीले एक फन्को मारिसकेको थियो। एकोहोरो घुमिरहन्छ,मान्छेलाई सचेत गराईरहन्छ,मैले घडीको सुईमा आँखा गाडेँ,एक बज्यो। अब फेरी सुई लाउने पालो हो,मुटु काम्ने गरी सुईको टुप्पोले मेरो छाला छेड्दै भित्रिन्छ-असंख्य पीडा छोड्दै बाहिरिन्छ। यहाँ डाक्टर र नर्सलाई बोलाइरहनु पर्दैन,सहि समयमा आउँछन्-सहि समयमा इलाज गर्दै फर्कन्छन्। सजिलो छ,
फ्रेन्च दाह्रीवाल डाक्टरका जुत्ता बजे,बडो रबाफले उ मतिर आयो,खिस्स हाँस्यो र खुट्टामा प्याट्ट हिर्कायो,अब 2 मैना बेड रेष्ट। उ गयो,नर्सले फेरी सिरिन्ज खोली,औषधि भरी र मतिर आई।
कोल्टे फर्कनुस्। म बिस्तारै कोल्टिएँ
मेरो पाइन्ट तल तान्दै उसले फेरी मेरो नितम्बको छाला कसेर समाती,केहि शीतल बनाउने झोल रुईमा हाली र छालामा दलिदिई,शीतल छालामा उसले सुई सोझ्याई,भनी”उता फर्कनुस् हजुरले हेर्नुहुन्न”
आफ्नै शरीर र आफ्नै उपचार पनि हेर्न नहुने,कस्तो बिडाम्बना। मैले मुन्टो बटारेँ,
ऐया! झड्का हानेझैँ दुखाउँदै सुई भित्र पस्यो,यति धेरै त कहिल्यै दुख्दैनथ्यो। बिष भरिएको औँलो टन्किएझैँ मेरो नितम्ब दुख्यो,कति छाप बसे होलान्,कति प्वाल परे होलान्,दिनमै पाँच सुई कोच्छन्, आज 5 दिन भैसक्यो,25 सुईले मेरो छाला मात्र हैन शरीर नै कुँजो पारिसके।
के आमाले मलाई जन्माउँदा नि यस्तै पीडा भएको थियो? के यति नै दुखेको थियो? हजार गुणा बढी दुखे होला,सय गुणा बढी रुँदै चिच्याईहोलिन्,आमाको प्रसबबेदना मैले अनुमान गर्न सकिन,म छोरो भएर जीवनमा गर्न नसक्ने कुरा यै हो,म आमाको कष्ट अनुमान गर्न सक्दिन,महसुसले मात्र आमाको भार कसरी तिरुँ म? आमा तिमीलाई कहिल्यै हेलाँ गर्नै नपरोस्। कुजाती सन्तानले बाआमालाई हेलाँ गर्छन्,सानै छँदा बाले भन्नुभएको थियो,तर मेरो छोरो भाग्यमानी छ,नकाम कहिल्यै गर्दैन। के बाको बिश्वास मैले कायम गरिरहन सकूँला? खराब छोरो भएर म बाआमालाई कहिल्यै उनिहरुको बुढेसकालमा घृणा गर्दिन,साथै राख्छु-आश्रम पठाउँदिन। कसम भो,मैले आँखा चिम्लिएँ..
कोल्टे पर्दा झ्यालनेरै रहेको सिसामा अनुहार देखियो,कति मैलो र फुस्रो भएछ,मैले चाहेर नि धुन सक्दिन किनकि म उठ्नै सक्दिन। घाँटीका धारमा नि कालै मैला जमेछ,कसरी नुहाउँ? जिउका कपडा हेरेँ,नफेरेको नि यत्रो दिन भैसक्यो। धुलो मात्र छैन मैला र गन्ध त कतिकति,सायद डाक्टर नि घिन मान्दो हो,नर्सले नाक फाल्दिहो। तर,अहँ फाल्दिन,किनकि तिनीहरुको काम नै मानवसेवा हो,तिनीहरुको धर्म बिरामीहरुको उपचार हो।
मलाई आफ्नै जीउसँग वाक्क लागिसक्यो, दिनमा कम्तीमा एकपटक नुहाउने म,यहाँ यत्रो दिन भैसक्यो कुनै प्रबन्ध छैन। मैले हात उचालेँ,एसीको चिसोले पसीना जीउमै टाँसिएका थिए। झुस्स उठेका दाह्री नि निकै बढेछन्, काटिदिने कसले? म उठेर काट्न सक्दिन। थला पर्ने गरी या उठ्नै नसक्ने गरी कोहि बिरामी नहुन्। मरेकै जुनि हुन्छ..
जेल लाएर लर्काउने कपाल नि बाँसका जराजस्तै जर्रिएछन्,चायाँजस्तै सेता कण टाउकाभरी छन्,आमा तिमी त भगवान हौ नि के एकफेर मलाई भेटेर सानोमा नुहाएझैँ नुहाइदिन्छ्यौ? तिम्रो छोरोले आफ्नै जीउको स्याहार गर्न सकिरहेको छैन। मेरी प्रेमिकाले नि घिन मान्दि हो,तर तिमीले त मेरो दिसा-पिसाब समेत सोहोरेकीछौ।हातका नङ लामा भैसके,खुट्टामा नि नङ बढे,घाउ दुखेर अर्को पीडा छ,त्यै दुखाईमा निर्ममताकासाथ सुई रोपिन्छ,सुलजस्तै। म छट्पटिँदै ओछ्यानमै पर्छु,घाइते चरा आकाशबाट खसेजस्तो,कठै! जिन्दगी। चोटैचोटले भरिएको,
तिमी यहाँ आएको कति भयो?
पाँच दिन,मैले सोधिएको प्रश्नको उत्तर दिएँ।
अस्पताल हैन के,यो देशमा। उसले दोहोर्यायो,
त्यस्तै दुई साल भो। देश छोडेको,देश छोडेदेखि नै त म बेचिएको हुँ,बेचिएको भेडाको के स्वतन्त्र जीवन हुन्छ? के उसले स्वतन्त्र हिँडडूल गर्न पाउँछ? अहँ,पाउँदैन, अरुकै खटनमा चल्नुपर्छ। म तै भेडो हुँ,अनि यहाँ त्यस्तै एकसाल जति भो,कलेजमा काम गर्छु,तर पढाउने हैन। त्यस्तै प्रशासनिक काम,मैले भनेँ।
यो अघि?
यो अघि पढाउँथेँ,आठ सालजति अध्यापन गरेँ,गणीत शिक्षक।देशको मायाँ लाग्थ्यो। देश छोडेर हिँड्न हुन्न लाग्थ्यो। आफूलाई देशको मायाँ गर्ने सन्तानमा गन्थेँ,तर मैले मायाँ गर्दैमा देशमा केहि कायापलट भएन,पहिलो प्राथमिकता त आधारभूत आवश्यकता नै रहेछ। पेट भर्नैपर्यो बिदेशिएँ।
देश छोड्दा रोएनौ?
के ती मैले बगाएका आँसुहरु फिर्ता हुन्छन्? के मैले यहाँ खर्चेको समय पुन: भोग गर्न सक्छु? म बिगत हेरेर दुखी हुन्न,न त भबिष्य सोचेरै चिन्ता गर्छु। मलाई आजकै जिन्दगी काफी छ,के चराले कहिल्यै जिन्दगीबारे गुनासो गर्छन्? गर्दैनन्, तिनीहरु टन्न खान्छन्,खुला आकाशमा स्वतन्त्र उड्छन्। माहूरी फूल-फूल किन डुल्छन्? खालि फूल चुस्न मात्र हैन,फूलमा परागसेचन गराउन पनि हो,फूलको बंशमा स्थायीत्व दिन हो। म नि त्यै डुलुवा हुँ। मेरो सारा जीवन मेरै देशको लागि हो,छातिमा देश बोकेर पलपल बाँचिरहेछु।
पैले अष्ट्रियामा थिएँ। केहि दिन भो यहाँ आएको। मैले फेरी दोहोर्याएँ,
ए#### युरोप नि पुग्यौ। असहज आवाजमा उ बोल्यो
त्यस्तै 12-15 देश घुमेको छु। मैले भनेँ,
सफा टालो बोकेर नर्स आई। खिस्स हाँसी,छेउमै उभिईरही,मैले उसलाई हेरेँ। त्यै नर्स हो,जसको ठूलो गुजुल्टो भएको कपाल छ,कैलेकाहिँ बुर्का लगाउँछे र एकधार हाँस्छे।चौडा छाति र मिलेको जीउ छ,साह्रै राम्री छे,जूनजस्ती। उसका ओठ देख्दा एक चुम्बन गरुँ लाग्छ। कुनै उत्तेजनाले हैन,मायाँले-श्रदाले। जसले मेरो खुब ख्याल राख्छे,उसको हाँसोमा सुईले मेरो नितम्ब छेडेजस्तो म छेडिँन्छु। नर्स आएपछि अघिसम्म प्रश्न गरिरहने डाक्टर गयो, त्यो नयाँ हो,मलाई उपचार गरेको छैन। अस्पतालमा आउने जाने क्रम त चलि नै रहन्छ,बिरामी भएर आउँछन्-ठीक बनेर जान्छन्।
आज तपाइँलाई नुहाइदिन्छु है। उ बोलि।
नुहाउने? म लजाएझैँ हाँसे,पत्यारै लागेन।
नर्स,फनक्क फर्किँदै मोडिई र सिधा गई। एक नयाँ ह्विल चिअर घिसार्दै ल्याई,नर्सका पट्याक-पट्याक चप्पलका आवाजसँगै ख्यार्र-ख्यार्र चिअरका पाङ्ग्रा बजे। नर्स मै सुतिरहेको बेडमा आएर रोकिई,पाइलाको आवाज पनि रोकिए। उसले आफ्ना कोमल हात मतिर बढाई,म जर्रिएझैँ दह्रो बनेँ।
मेरो मनकै कुरो कसरी बुझी? हुन त एक असल मनले अर्को मनको कुरा जरुर बुझ्छ, नर्सले मेरो ढाडमा बिस्तारै आफ्ना हातहरु फैलाई र अलक्क उठाएझैँ बल लगाई,मेरो मुटु भने चिसो भयो,सासै रोकिएलाझैँ गर्यो। चलाउन खुम्चाउन नमिल्ने खुट्टोमा उसको हात नै बैशाखीभन्दा दरिलो टेको बन्यो। उसले उठाई-म वार्डबाट उठेँ। आफ्नो ढाड र काँधमा मलाई अड्याउँदै ह्विल चिअर तानी,मलाई बसाली र ख्यार्र दगुराई,अघिअघि म पछिपछि नर्स। अस्पतालको करिडोरमा चिअरका पाङ्ग्रा जोडजोडले कुदिरहेका थिए, मलाई नर्सले नजिकैको बाथरुममा लगी,म भने अब सर्माएँ।
तपाइँको घरमा को-को हुनुहुन्छ?
बा-आमा, जसले जीउज्यानले मलाई निस्वार्थ प्रेम गर्छन्। मैले जबाफ दिएँ,
याद आउँदैन?
धेरै आउँछ,दिमाग पड्केलाझैँ गरी। मुटु फुट्लाझैँ गरी। तर, मैले मुटु सम्हाल्छु,किनकि यो मुटुमा मेरा फूलजस्ता भगवान छन्,जो मेरा बाआमा हुन्।
उ अलिक भावुक देखिई। तपाइँको नि? मैले सोधेँ।
मेरो कोहि हुनुहुन्न। बा आमासहीत परिबार सबै गृहयुद्धमा मारिए,मैले भागेर ज्यान जोगाएँ,उसले सिरियाको गृहयुद्ध र त्यसले निम्ताएका दुखद कहानीहरु सबै सुनाई। युद्धले कसैको भलो हुँदैन किन बुझ्दैनन्,मान्छेहरु? हतियारले कसलाई सुरक्षा र दीर्घायू दिन सकेको छ? उसका अनुहारभरी तप्केका आँसुहरु मैले हेर्न सकिन,हात बढाउँदै पुछिदिएँ र भनेँ,”नरुनुस्”।
घाउ दिने समयले नै सबैका घाउ निको पार्छ। भोकाहरु पेट भर्ने आसाले,किसानहरु फल लाग्ने-बाली पाक्ने आसाले,मदजुरहरु काम र ज्याला मिल्ने आसाले जिइरहेका हुन्छन्।
सबै कुराको समय छ
-जन्मने मर्ने
-घाइते हुने निको हुने
-फूल फुल्ने फल लाग्ने
-रोप्ने फसल कटनी गर्ने।
यस्तो अवस्थामा नि यसरी साहस र सान्त्वनाका कुरा कसरी जान्नुभो?नर्सले सोधि
चुपचाप जिन्दगीलाई मायाँ गर्दै जिउनुस्
यसले कहिल्यै धोका दिने छैन। साथीले छोड्लान्,घामजूनको अन्त्य होला,तारा उदाउलान्-अस्ताउलान्,फूल फुल्लान्-झर्लान् तर जिन्दगीले कहिल्यै एक्लो पार्दैन,जहाँ जानुस् यो सँगै रहिरहनेछ।
उसले मलाई घोप्टिएर अंकमाल गरी। तपाइँजस्ती सहनशील नारी मैले आजसम्म देखेको थिइन। यहाँ धर्म र संस्कार,संस्कृतिभन्दा ठूलो मानवता रहेछ।
तपाइँ नचल्नुस्। खुट्टाको घाउ दुख्छ, उसले सानो स्वरमा बोलि, म एकैछिनमा आउँछु। उ गई-उ आई, खालि हात गएकी थिई-भरी हात भएर आई। उसको हिँडाई पनि कति सुन्दर छ,
हातमा रेजर ल्याएकी उसले मेरा दाह्रीमा क्रिम दल्दै खुर्किदिई।
अघिसम्मको मेरो झुसिलकिरोजस्तो मुख ऐले भने पुतलीजस्तो बन्यो। यो आफै बनेको हैन,दयालु नर्सले बनाइदिएकी।
हातको सेतो रोलवाला कागज निकाल्दै उसले मेरो मुख पुछिदिई,चिसो मेरो अनुहार अब ओभानो बन्यो,ह्वारह्वार बल्ने खरजस्तो।
ल अब ऐना हेर्नुस्। बाटुलो र सानो ऐना मतिर बढाउँदै उ हाँसी,उसको हाँसोमा चंचलता हैन निर्मलता छ,
मैले ऐना हेरेँ। हिजोअस्तिको म र आजको ममा निकै फेरबदल भएछ,झरी पछि उघ्रिएको सफा आकाशजस्तो,धन्यबाद भनूँ भनूँ लाग्यो, तर यो शब्द काफी थिएन उसको लागि। मैले भनिन,
केहि आराम भयो कि? उसले फेरि दोहोर्याई, निकै आराम छु मैले भनेँ।
आज तपाइँको जीउ पनि धुनुपर्छ,फेरी भोलिदेखि मेरो सिफ्ट मिल्दैन। उसले निन्याउरो बोलि।
सिफ्ट नमिल्ने ? मेरो मुटुमा काँढा रोपियो, तिमी नै नभए मेरो वास्ता कसले पो गर्छ? मलाई कम दुखाएर सुई कसले लगाईदिन्छ? बिन्ति छोडेर त नजाउ न है, म स्वस्थानीका महादेबझैँ छट्पटिएँ। सतिलाई संझदै उनले भनेका थिए। “बिष भाङ धतुरो देख्दा मेरा पतिले खाने भन्दै तिमीले राखिदिन्थ्यौ,अब कसले राखिदेला। म बौलाएर पृथ्वी चहार्दा तिमी मेरो प्रतिक्षामा बस्थ्यौ,अब को बसिदेला। म आँगनमा सुत्दा तिमी रातभर जाग्राम रहन्थ्यौ,अब को रहिदेला।” महादेबले आफ्ना जटा बजारेर बीर बीरभद्र र महाकाली उत्पन्न गराएका थिए। म महादेब नि हैन,मेरा जटा नि छैनन्, म के गरुँ? रोउँ-रोउँ लाग्यो,रुन नि सकिन। हाँसो नि पलभरमै हरायो।
किन गम्भीर हुनुभएको? उसले सोधि, नाइँ त्यत्तिकै,मैले भनेँ। एकछिन मौनता छाइरह्यो,हावाले खजूरका लामा पातहरु हल्लाईरह्यो,आकाशका कुना-कुनामा देखिएका बादलका टुक्राहरु आकाशमै दौडिरहे।
उसले उसका मनताता हातहरु मतिर बढाई र छातिमा अड्याई। हावामा उड्दै खसेको पात घाँसमा अडिएजस्तो उसका दुबै हात मेरो छातिमा अडिए। उसले मेरो ज्याकेट समाई र घ्यार्र चेन तानी। घाँटीसम्म आएको चेन कम्मरसम्म क्षणमै पुग्यो, हात फैलाउनुस्। उसले मसिनो बोलि बोली।
गिद्धले पखेटा फिँजाएजस्तो मैले लजाउँदै हातहरु फैलाएँ,मानौ मेरा हातहरु जहाजझैँ उडिरहेछन्। मेरो हरबाट ज्याकेट तान्दै उसले कुर्चीमा राखी र बोलि,यति मैलो हुँदासम्म नि लगाइरहने?
नलगाएर के गर्नू? जाडो छ,फेर्ने अरु लुगा छैनन्। फेरी एक्लै छु,धोइदिने पनि त कोहि छैनन्,
मलाई किन भन्नुभएन? नर्समा पनि तपाइँजस्ती नर्स मैले भर्खर देख्दैछु,बिरामीको नजिक पर्दा त नर्सहरु नाक खुम्चाउँदै बोल्छन्, मैले जबाफ दिएँ।
ठीकै छ,भैहाल्यो। यो सर्ट नि खोल्नुस्।
सर्ट नि खोल्नुपर्ने?हुन त लाजभन्दा स्नेहको कुरा छ,मैले सर्टका बाहुलाबाट हात फुकालेँ र नर्सतिर हुत्याएँ। उसले च्याप्प समाती र पोको बनाई।कपडा लाएर नि नुहाउँछन्? उसले मेरो बनियनतिरै इसारा गरी। मैले त्यो पनि खोलेर मिल्काएँ। अब भने म पूर्ण रुपले खालि भएँ,मेरा छातिका रौँ हरु देखिए,केहि रौँ छातिबाट चुँडिएर भूइँमा खसे।
नर्सले गुलाबी रङको रुमालजस्तो कपडा हल्का पानीले भिजाई र मेरो ज्यानमा दगुराई। कपडा र नर्सका मुलायम हात मेरो घाँटी ढाड छाति पेट हात पाखुरा हुँदै कम्मरसम्म सल्बलाए,मलाई टुटेकै हड्डी जोडिएझैँ सन्चो भयो। अघिसम्मको गन्धे शरीर अब भने स्फूर्तिले भरिएको थियो। अमीलो गनाएका कपडा नि अब जीउमा रहेनन्।उसले मेरो पाइन्ट खिचि, घुँडादेखि तिघ्रासम्मै पानीले सफा गरिदिई, म त त्यसै निदाएछु।
मेरो दुखेको खुट्टो नि सफा गरिदिनुभयो? निद्राबाट बिउँझेपछि राता आँखा पार्दै मैले सोधेँ। नाइँ,घाउमात्र तातो पानीले पखालिदिएकी। उ हाँसी,म नि हाँसे। के हाँसेर मुस्कान सकिन्छ र? के बगेको खोला रित्तिन्छ र?
यो लगाउनुस्। उसले नयाँ पोको खोलि र केहि लुगाहरु मतिर बढाई,मैले हतारहतार लुगा ज्यानमा उन्न खोजेँ,
बिस्तारै! घाउ दुख्छ,उ मन्द हाँसी,म नि हाँसे। अब म नयाँ भएँ,बिल्कुल नयाँ। पूराना लुगा प्लाष्टिकमा हाल्दै उ बोलि,यी लुगा म धोएर ल्याईदिउँला।
संसारमा यस्ता नर्सहरु पनि छन्? जसको कोहि नहुँदा पनि दीगो दिल-ज्यानले ख्याल गरिरहन्छन्। किताबकी फ्लोरेन्सभन्दा कम नर्स यी पनि होइनन्।
एउटा कुरा सोधुँ? तपाइँको दुर्घटना कसरी भयो? अलिकति पनि ख्याल गर्नुभएन है? ज्यानको मायाँ लाग्दैन है? घरमा तपाइँलाई पर्खेर कोहि बसिरहेछन्।
काल फोन गरेर आउँछ र? ख्याल त कति गरेकै त हो,नत्र खप्पर नि भेटिन्नथ्यो। मलाई के आफ्नो शरीरको मायाँ नहोला र, दिनहरु सधैँ एकनाश रहन्नन्,समय सधैँ आफ्नो पक्षमा रहन्न,रुखका पातहरु त हाँगा बिर्सेर भूइँमा खस्छन्। जे नहुनू थियो त्यै भयो।
शुक्रबारको दिन,यहाँका ब्यस्त र फराकिला सडकहरु लगभग खालि हुन्छन्। सिग्नलमा थोरै गल्ती भो कि यहाँ त ज्यान जोगाउनै मुस्किल हुन्छ। सुतिरहेको थिएँ,मोबाइल बज्यो। आँखा मिच्दै हेरेँ,भान्जाको फोन रहेछ।उठाउँ कि नउठाउँ लाग्दै फोन रिसिभ गरेँ।
दाई नमस्कार,भान्जा बोले। नमस्ते भाई,आराम छौ ? मैले जबाफ फर्काएँ। आराम छु,पाँच तारिख घर जान लागेको एकपटक दुबई आउनु न।
एकबर्ष बढी भैसकेको थियो,हाम्रो भेट नभएको। उनि यहाँ आए घरबाट,म अष्ट्रिया गएँ,यहाँबाट। बीचमा फोनसम्पर्क भन्दा अरु भएन,धेरै मायाँ लाग्छ उनको,सानै छँदा दरौँखोलामा पौडनेदेखि गाडीको ट्युब चोर्नेसम्म काम गरेका हामी,आलि लाउनेदेखि बाँदर कुर्ने,घाँस काट्नेदेखि रुख-रुख चाहार्दै हिँड्ने सबै काम भयो। पछि स्कुल छोडेर उनि एकाएक हराए,घरमा रुवाबासी गराएर। दुई बर्षपछि थाहा भयो,माओबादी बनेर हतियार बोकेछन्। मरेका आसा जीवित भएझैँ पलाए उनलाई जिउँदै देखेपछि। उनि त मरेनन्, तर उनिजस्ता उनका हजारौँ नेपालीले अनाहकमा ज्यान गुमाए। कतिका छोरा मरे कतिका छोरी मरे,कति टुहुरा र अनाथ भए,कतिका सिन्दूर मेटिए,भबिष्य लुटिए,त्यसको त लेखाजोखा थिएन,पत्रिका रेडियो र टिभीमा मुख्य खबर नै भीडन्त मुठभेड र मृत्युका हुन्थे। बम ग्रिनेट र हतियारका हुन्थे,फायरिङका हुन्थे। पाकेको भात सन्तोषले खानसक्ने स्थिति थिएन, कमाएको ज्याला सुरक्षित रहने ग्यारेन्टी थिएन। खै र, परीबर्तनको नामले भएको युद्धमा बिध्वंश बाहेक केहि भएन, बनेका साधन र जनताले प्रयोग गर्ने पूर्बाधारहरु तहसनहस भए। पूल भत्के,घर बमले हावामा उडे,स्कुल कलेज हतियारका गोदाम भए,हजारौँ बिद्यार्थीले सुन्दर सपना गुमाए,भबिष्य नै अँध्यारोमा धकेलियो। सबैतिर डरैडर र त्रासैत्रासले बाँच्नुपर्ने स्थिति आयो। देशको बिकासमा खर्च हुने पैसा युद्ध र हतियारमै सकियो। महँगी यति बढ्यो,भ्रष्टाचार यति मौलायो कि जनताका काम गर्न बसेकैले जनतालाई टेर्न छोडे, घुषखोरीले सीमा नाघ्यो,देश गृहयुद्धमा धकेलियो। राजनैतिक अस्थिरता मच्चियो। नेपाल बिश्वकै गरिब र भोकमरीको देशमा गनियो। ऐले इराक अफगानिस्थान र सिरियाले बेहोरेको अबस्था दशक अघि नै नेपालले भोगिसकेको थियो।
यै अबस्थामा भान्जाले पासपोर्ट बनाएर बिदेश आए,हतियार बोक्न छोडे।
उनै भान्जालाई कसरी नभेटूँ? म हतारहतार उठेँ। नुहाएँ,लुगा प्रेस गरेर बसपार्क हानिएँ। यति लामो लाइन त कहिल्यै थिएन, मान्छेहरुको ताँती देख्दा फर्कूँझैँ लाग्यो, फर्किन। टिकट लिएँ,दुबई एक जना। लामो प्रतिक्षापछि बस चढेँ,आबुधाबी छोड्दै बस दुबई हुइँकियो। युरोपकै गतिमा बिकास छ यहाँको,चिसो एसीको हावा खाँदै पट्याटलाग्दो बालुवाघारी चियाईरहेँ।
आउनै लागेँ,भान्जाको फोन आयो। केहि घण्टाको यात्रा पछि दुबई देखियो। बालुवामा महल बन्दैनन् भन्छन्,मान्छेहरु। यहाँ त महलभन्दा अग्ला भवन छन्,नजरले थाम्दैन। सरर्र रेल गुड्यो,दुबई मेट्रो रे। यहाँको बिकासको त कुरै नगरुँ। कति द्रुत गतिमा छ,संसारकै फ्युजन सिटी भैसक्यो। खजुर र खब्बुस खाएर बाँच्ने यिनीहरुले उपयोग र भोग नगरेको केहि साधन छैन संसारमा। संसारभरका मान्छेहरुलाई सस्तोमा ल्याएर महँगो प्रतिफल उठाउन सफल यो देश र यहाँका लिडरका भिजनलाई मान्नैपर्छ। राजा भएर बिकास भएन भन्दै देशमा लोकतन्त्र आयो,जनताको संबिधान बनाउने भनेर अरबौँ खर्चेर निर्बाचित संबिधान सभा त्यसै तुहियो। हामी जनता नै उस्तै हो,मनमनै गुनासो गरेँ। बिकास हुन कुनै शासक र कानूनले रोक्दैन। देश संझिएँ,बढ्दो लोडसेडिङ र खेर गईरहेका नदीहरु आँखामा नाचे। लुट्नेहरुले त जसरी नि लुटिरहेछन्,जेनेरेटर इन्भर्टर, सोलार बेचेर।
म बसबाट उत्रिएँ। समुद्रको किनारमा तैरिएका पानीजहाजले सामान खसाईरहेका थिए। ठ्याक्कै रत्नपार्क याद आयो,छरपष्ट नेपालीहरु। सडकमै अंकनाल र चुम्बन गरिरहेका थिए। खैरेहरु लाजले मुन्टो बटार्दै जान्थे। किन ढिला? भान्जाले सोधे, गाडीमा लाइन बस्नुपर्यो अनि,मैले भनेँ।
होटल जाम्। भोक लाइरहेछ,ठीकै भन्यौ। जाम्। नजिकैको होटलमा हामी गयौँ। निकै कुराकानी सहीत खाना सकियो। टिकट हातमै आयो? मैले भान्जालाई सोधेँ। 5 तारिख 3 बजेको फ्लाइट,उनले भने।
ए### म बोलिन। घरमा फोन लगाएँ। आमा बोल्नुभो,के पठाइदिउँ? केहि पठाउनु पर्दैन,तिमी आराम रहू पुग्छ। आमाको मन हो,कहिल्यै कुभलो सोच्दैन। घरमा कोठा बनाउन लागेको,काठ काटिसकियो भए बरु पैसा पठाइदेउ,हस् हुन्छ मैले भनेँ। बालाई फोन दिनुस् त।
बा,ढोगेँ। भाग्यमानी भएस्। के पठाइदिउँ? मोबाइल अल्लि पुरानो भो। बा रोकिनुभो। हुन्छ म नयाँ पठाइदिन्छु। मैले फोन राखेँ।
मैले दुईटा मोबाइल किनेँ, बा र आमालाई। घडी पनि किनिदिएँ। अर्को पसलबाट मीठाईँका पोका किनेर पार्सल बनाएँ, एउटा ठूलो लाईट। बा उखु कुर्न सजिलो हुन्छ,यति लगिदेउ,मैले भान्जालाई दिएँ। भान्जाले लिए र झोलामा कोचे। दिनभर घुमफिर र फोटो खिचेरै समय सकियो
साँझको पाँच बजिसकेको थियो,अब म भने आबुधाबी फर्कनुपर्ने, घामका किरण नि राता हुँदै बिलाइरहेका थिए। अब छुट्टिनुपर्छ,मैले भान्जालाई अँगालो हालेँ। राम्ररी गए,शुभ यात्रा, नेपाल बसाइ राम्रो र फलदायी होस्।
आँसु खसाउँदै आ-आफ्नो बाटो लागियो। म बसपार्कबाट आबुधाबीको गाडी चढेँ,ऐले भने लाइन थिएन,कुर्नु परेन। आज अफिसमा बिदा मिलेन म त समयमै पुग्नुपर्थ्यो,नत्र मेसिनले कार्ड स्वाइप नै गर्दैन। मैले फोन गरेँ,एक घण्टा ढिला हुन्छ,बाटोमा छु। आठ बज्यो, अँध्यारो साँझमा चम्केका बत्ती चिर्दै गाडी बसपार्कमा घ्याच्च रोकियो, म फटाफट झरेँ, र ट्याक्सी समात्दै रुम हानिएँ।
रुमकै अघि ट्याक्सी रोकियो,रोकियो फनफनी घुम्ने ट्याक्सीको मिटर पनि। दश दिराम उठेछ,मैले गोजिमा हात हालेँ,पर्स निकालेँ र दशको नोट ड्राइभरतिर बढाउँदै धन्यबाद दिएँ। उसले हाँस्दै नोट समात्यो र ट्याक्सी हुइँकायो। हतारहतार रुम आएँ,लुगा फेरेँ। ड्रेस लगाएर साइकल झिकेँ। टाउकोमा हेलमेट कस्दै साइकलको गियर बढाएँ,गियर बढेको साइकलले तेज रफ्तार लिँदै कुद्यो।
सिग्नलमा रातो बत्ती बल्यो,मैले झ्याप्प ब्रेक हान्दै साइकल रोकेँ। बत्ती फेरी हरीयो बल्यो,मैले साइकल बढाउँदै गति लिएँ। टाढैबाट जोडले कार आइरहेको थियो,मैले देखेँ तर म रोकिइन, किनकि ऐलेको सिग्नल पैदल यात्रुको लागि थियो। मोबाइलमा कुरा गर्दै हाँकिरहेको ड्राइभरले कार रोकेन,गलत सिग्नलमा मेरै साइकलमाथि बज्रियो। म हावामा उडेको प्वाँखजस्तो हुत्तिँदै उछिट्टिएँ। 15 मिटर हुत्तिँदा नि म बाचेँ। यो जीवनकै अकल्पनीय दुर्घटना थियो,शूण्य संभावनाले मलाई बचायो।
मैले अरु केहि याद गरिन। मम्मी मात्र भनेँ, आमाको नाम मात्र उच्चारण गर्दा म बाँचेँ,पैदल यात्रीले कार रोक्दै ड्राइभरलाई बेसरम पिटिरहेका थिए। म उठेँ,साइकल कामै नलाग्ने गरी कुच्चिएछ,हेलमेट 5 बढी टुक्रामा फुटे हुँदो हो। हेलमेट फुटेझैँ मेरो खुट्टा फक्लक्कै काट्यो,मलाई उसैले अस्पताल ल्यायो र हात जोड्दै बिन्ति गर्यो। पुलिस नबोलाइदिनु। म बाँचेकोमा मैले उसलाई धन्यबाद दिएँ।
थाहा छैन, मेरो खुट्टा पहिलेजस्तो हुन्छ हुन्न। म हिँड्न सक्छु सक्दिन। मेरो धन कमाउने रहर पूरा हुन्छ हुन्न,तर बिदेश स्वदेशझैँ कहिल्यै हुँदैन। मैले बुझेँ। यहाँ त बिरामी पर्दा पानी दिने नि कोहि हुँदैनन्। पैसा नै सबथोक होइन,पैसाको सपनाले आफ्नो परिबारसँग कोहि नछुटुन्,कसैलाई परदेशमा बिरामी बन्न नपरोस्। यहाँ पैसा फल्दैन,पैसा फल्ने रुख नि छैन,यसैले यथार्थमै जिन्दगी जिउन सबैलाई आग्रह गर्छु।
नर्सले आँसु चुहाईरही। मैले हेरिरहेँ,उसका काँपेका ओठले मेरो खुट्टामा चुमी,म त्यसै पल्टिइरहेँ। के म ठीक भएर घर जान सकूँला? दिन पर्खिरहेछु।
जीवन शर्मा अर्याल