.
सबै कुरा भएर पनि केहि नभएजस्तो उदास मन कति उराठ हुँदो रैछ।
-टोपी भएर शिर नभएजस्तो
-गमला भएर फूल नभएजस्तो
-बादल भएर बर्षा नभएजस्तो
-बा भएर आमा या आमा भएर बा नभएजस्तो
जिन्दगी साँच्चै रित्तो र शून्य छ।
रित्ता हातका औँलाहरु दगुरिरहन्छन्, र
केहि लेखिरहन्छन् किबोर्डका धर्काहरुले
बा। आई मिस यू
आमा। आई लभ यू..
मलाई एकपटक हेर्ने इच्छा छ।
-डराइडराइ कमेरो खन्ने त्यो खाडल
-नाङ्गै नाङ्गै दगुर्ने त्यो बाल्यकाल
-भूँडी सेकिने गरी हाम फाल्ने ती दरौँखोलाका अक्करहरु,
के महसुस हुन्छ? मेरो खुट्टामा काँढा बिझ्दा पैले आमा दगुर्दै आउँथिन्,
फुकाउँथिन् गाँठो पारेको पटुकी र निकाल्थिन्
मसिनो सियो,
ऐया! भन्दै म चिच्याउँथेँ, फु-फु गर्दै आमा सम्हाल्थिन्,बडो जतनले मेरा संकष्टहरु
मलाई एकपटक फेरी रुन मन छ।
-आमाको बिगौँती दुध चुस्न
-बाको काँधबाट फराकिलो संसार चियाउन
-नयाँ किताब पाउन र स्कुल कुद्न,
ती दिनहरु कहिल्यै फर्केर आएनन्,
भोकाए रोइदिए पुग्थ्यो
मन लागे हाँसिदिए हुन्थ्यो
दिसामा गुडुल्किएर पिसाबमै रुमलिँदा सन्तुष्टि मिल्थ्यो,
ती महसुसहरु,ती अनुभूतिहरु पूराना लाग्दैनन्।
ठूलो फाँटमा जुधेर सिङ फुक्लेका हल गोरु
थकैलाको काँढाले मेटेका पानी प्यासहरु
ऐसेलू र चित्रोमा उधारिएका बाहूलाहरु
अरिंगालले टोकेर सुन्निएका आँखाहरु
बिहानीको शीतसँगै म खनिउको रुखमा पुग्थेँ, र टिप्थेँ। एक कमिज राता खनिया
मलाई ती कलिला हातमा लगाउन मन छ,
-चार दर्जन आमाका चुराहरु छिनछिन बजाउँदै
-बाको एच.एम.टी. चाबी दिने घडी
-दशैँमा संगालिएका सेलरोटीका हारहरु
हजुरबाको कोट र बाको इष्टकोटजस्तो के जिन्दगी पूरानो होला ?
आमाको फरिया र ब्लाउजजस्तो के जिन्दगी बाँधिएर रहला?
उड्न चाहन्छु म एकफेर,
बादलभन्दा माथि माथि आकाशको देशमा
हावा भरिएको बेलुन जस्तै,
खुलेआम पखेटा फिँजाउँदै उड्ने गिद्धजस्तै
हावाको गतिमा दौडने कपास र शिमलजस्तै
के बैनी तिमी फेरी आउली ?
मेरो लामो आयुको कामनामा दैलोमा तेल चुहाउँदै
बाँसका जराजस्तो मेरो कपाल तिम्रो हातको काइँयोले कोरिदिँदै
उदाउँदो सूर्यको जस्तो मधुर मुस्कान मुस्कुराउँदै
मेरो खालि निधारमा सप्तरंगी टीका भर्दै,
मलाई आमाको हातले सुम्सुमाउनु छ
गालाको मेरो कोठी
सानैमा आमाले बनाइदिएको यो ठूलो निधार
जतनले जोगाइदिएका यी हातखुट्टाहरु
देख्नु छ बाले पनि,
छोरोको एकधार मुस्कान
लमकलमक लम्कने यी पाइलाहरु
बिचलित नहुने मन र नबदलिने अठोट।
समयले कसैलाई पर्खँदैन,
जवानीले कसैलाई एकनाश साथ दिँदैन
भाग्य र कर्म नि सधैँ पक्षमा परिदिन्नन्
एउटा कुनोमा याद र अर्को कुनोमा संझना छन्
जिन्दगी जिउनको लागि साँचेका
थोरै आसाहरु
थोरै रहरहरु
केहि संकल्पहरु
केहि सपनाहरु
अलि बढी बिश्वास
त्यो बढी कर्म र सबैभन्दा बढी प्रेम र अनुग्रह।
म मुस्कानमा उज्यालो जिन्दगी जिउँछु!